जानी राखौ:टाइफाइडको ज्वरो र यसका उपचार
टाइफाइड प्राय: गर्मीयाममा मानिसमा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन् । तर, टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्याराटाइफाइडका जीवाणु भेटिन्छन् ।
दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणु प्राय: बर्खायाममा बढी क्रियाशील हुने गर्छन् । त्यसैले साउन–भदौमा टाइफाइड हुने बढी सम्भावना रहन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोग बढी मात्रामा १० देखि ३० वर्ष उमेरमा देखिने गरेको पाइन्छ । यसका जीवाणु शौचालयको फोहोर तथा झिँगा बस्ने ठाउँमा बढी पाइन्छ । नेपालमा पनि वर्षाको वेला प्राय: टाइफाइड महामारीका रूपमा देखापर्ने गर्छ । यसका जीवाणु सूर्यको किरण, ताप तथा संक्रमणले गर्दा मर्छन् । साल्मोनेला समूहको जीवाणु ६० डिग्री सेल्सियसभन्दा बढी तातो सहन सक्दैनन् । रोगी व्यक्ति र वाहक व्यक्तिको दिसापिसाबबाट मात्र ब्याक्टेरिया निस्कन्छन् । टाइफाइड जुनसुकै उमेरमा हुन सक्ने भए पनि बढी मात्रामा १० वर्षदेखि ३० वर्षकालाई बढी देखिन्छ । एकपटक टाइफाइड भएपछि अर्कोपटक पनि हुने सम्भावना बढी हुन्छ । कसरी सर्छ ? साल्मोनेला समूहको जीवाणु रोगी मानिसको आन्द्रामा हुने गर्छ । आन्द्रामा रहेका यसका जीवाणु दिसाका माध्यमबाट बाहिरी वातावरणमा फिँजिन्छन् । दिसाबाट जमिनमा झरेका जीवाणु पानी तथा खानेकुराका माध्यमबाट पुन: मानिसको शरीरमा प्रवेश गर्छन् । जस्तै, एउटा रोगी मानिसले पानीको मुहाननजिकै दिसा गर्यो भने यस्ता जीवाणु नजिकैको पानीमा पुग्न सक्छ । त्यही पानी स्वस्थ मान्छेले सेवन गरेमा जीवाणु उसको जिउमा प्रवेश गर्छ । त्यसैले यसलाई मेडिकल भाषामा ‘ओरेफिकल कन्टामिनेसन’ भनिन्छ । यसबाट टाइफाइड देखा पर्छ । अझ बढ्दै जाँदा म्यानेन्जाइटिस बनाउने अवस्थामा पनि पुर्याउन सक्छ । जसलाई ‘टाइफाइड म्यानेडिजम’को अवस्थाले बुझिन्छ । यो रोग पानी, दूध, सागसब्जी, माछा, झिँगा र अन्य वस्तुबाट पनि सर्छ । यी जीवाणु शरीरमा आन्द्राको माथिल्लो भागबाट रगतमा प्रवेश गरी रक्तसञ्चारको क्रियाबाट शरीरका अनेक भागमा पुग्छन् । सानो आन्द्रामा पुगेपछि त्यहाँका लिम्फ ग्रन्थिलाई मुख्य असर गर्छ र आन्द्राका रक्तनली समेतमा घाउ पारी रक्तस्राव गराउँछ । कहिलेकाहीँ त आन्द्रामा प्वाल पनि पर्न सक्छ । तर, आजकल सजिलैसँग टाइफाइडका औषधि उपलब्ध हुने हुँदा कमै मात्रामा प्वाल परेको पाइन्छ । कसरी चिन्ने ? मानिसको शरीरमा हनहनी ज्वरो आउँछ । त्यसबाहेक रिँगटा लाग्ने, वाकवाकी लागी बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ । टाइफाइडको औषधि सेवन गरे पनि तीन दिनसम्म ज्वरो घट्दैन । त्यसैले ज्वरो आइरह्यो भने बिरामीले तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकि, रगतको परीक्षणविना टाइफाइड नै हो भनेर यकिन गर्न सकिँदैन । टाइफाइड ज्वरोको हरेक हप्तैपिच्छे स्वभाव बदलिने हुँदा प्रत्येक हप्ताका लक्षण फरक–फरक देखा पर्छन् । सामान्यत: चार हप्तामा रोग पूरै निको हुन्छ । पहिलो हप्तामा अरू सरुवा रोगका जस्तै सामान्य लक्षण देखा पर्छन् । जिउ दुख्ने, टाउको दुख्ने, भोक नलाग्ने, क्रमश: साँझमा तापक्रम बढ्ने, दिनदिनै ज्वरो बढ्दै जाने, नाडी ज्वरोको अनुपातमा कम हुने, जिब्रोमा काई पलाउने र मुख सुक्खा हुन्छ । दोस्रो हप्तामा ज्वरो धेरै नै आउँछ । तर, विहान र बेलुका ज्वरो फरक हुन्छ । पेट दुख्ने, फुल्ने, दुई–चारपटक पखाला लाग्ने, शरीरमा राता फूल पनि देखा पर्न सक्ने तथा नाकबाट रक्तस्राव र दिसा पनि कालो हुन सक्छ । तेस्रो हप्तामा बिस्तारै रोगी ठीक हुँदै जाने, खानामा रुचि बढ्दै जान्छ । तेस्रो हप्तामै ज्वरो सामान्य हुन्छ । चौथो हप्तामा उपचार नपाएमा त बिरामी झन् सिकिस्त हुन्छ । तर, उपचार गरेमा पूर्ण स्वस्थ हुन्छ । के गर्ने ? टाइफाइड लागेको पत्ता लागेपछि मात्रै होइन, नलाग्दै पनि केही गर्न सकिन्छ । जस्तै, हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी गरेर शरीरमा लगाउन सकिन्छ । कतिपय ज्वरो आएको भन्नासाथ बाक्लो कपडा ओढेर बस्ने गर्छन् । सकभर बिरामीलाई खुला ठाउँमा पानीपट्टी र सिटामोल मात्रै खुवाएर राख्नु उत्तम हुन्छ । त्यसबीचमा परीक्षणको रिपोर्ट आई औषधि चलाउन थालियो भने पनि ज्वरो तत्काल नघट्ने हुनाले सोही विधि अपनाउनु राम्रो हुन्छ । यसका जीवाणु फोहोर पदार्थमा रहने भएकाले दिसापिसाब गरिसकेपछि राम्ररी साबुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ । के खाने ? टाइफाइडले मानिसको आन्द्रामा संक्रमण गर्ने भएकाले भरसक नरम खाना खानुपर्छ । प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ । गाउँघर, सहरबजारमा टाइफाइड लाग्नासाथ जाउलो खानुपर्छ भन्ने चलन छ । तर, त्यो खान सकिएन भने दालको रसमा भात नै राम्ररी मोलेर खाँदा पनि असर गर्दैन । किनकि, ताजा भात दालमा डुबाएपछि त्यो पनि नरम हुन्छ । प्रशस्त मात्रामा उमालेको वा शुद्ध पानी र दालको रस वा झोलिलो पदार्थ सकेसम्म बढी खानुपर्छ । source:nayapatrica
प्रतिक्रिया दिनुहोस्...