विप्लवको बन्दमा टायर बालिरहेको अवस्थामा हत्यारा बच्चेलाल सरदार यसरी पक्राउ परे
Advertisement

राजविराज : एक वर्षअघि भएको हत्या आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका जिल्ला नेता बच्चेलाल सरदार पक्राउ परेका छन् ।
 आफ्नै गाउँका मसुकलाल सरदारलाई हत्या गरेको आरोपमा प्रसवनी ३ निवासी विप्लव नेतृत्वको माओवादीका सप्तरी जिल्ला सहइन्चार्ज बच्चेलाल सरदार पक्राउ परेका हु्न् ।

एक वर्ष भन्दा अगाडिदेखि मसुकलालसहित गाउँका युवाहरु सिरहाको विष्णपुर कट्टी ७ स्थित सर्रे खोलामा गिट्टी बालुवा संकलन गर्ने मजदुरी काम गर्र्थे । बच्चेलाल त्यतिबेला वैद्य समुहको नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज थिए।
 ०७१ जेठ १७ गतेको राति घाइते मसुकलाललाई उपचारका लागि लहान अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । सर्पदंशले मृत्यु भएको भन्ने खबरसहित बच्चेलालसहितकाले उनको शव दाहसंस्कारका लागि घर ल्याए । अन्त्येष्टि गर्ने बेलामा मसुकलालको शरिरभरी कुटपिटको निलडाम देखेपछि घरपरिवारका सदस्यहरुले हत्याको आशंका गर्दै नजिकैको इलाका प्रहरी कार्यालय महुलीमा खबर गरे ।
 महुली प्रहरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरेपछि लाशको पोष्टमार्टम राजविराजस्थित अञ्चल अस्पतालमा भयो । मसुकलालका बुवा बच्चुलाल सरदारले बच्चेलालसहित १२ जनविरुद्ध ०७१ जेठ २१ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए।सर्पदंशले मृत्यु भएको भनिएका मसुकलालको मृत्यु घाँटी बटारेर भएको भनी पोष्टमार्टम प्रतिवेदनले जनायो ।
 मसुकलालका परिवारका सदस्यका अनुसार मादक पदार्थ खाएका बेला ०७१ जेठ १७ गते राति उनीहरुबीच झगडा हुँदा बच्चेलालसहितकाले कुटपिट गरी हत्या गरेका हुन् ।बच्चेलालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा समेत कर्तव्य ज्यान मुद्दा दर्ता रहेको छ । परमादेशमार्फत ०७१ असार २९ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको कर्तव्य ज्यान मुद्दाको दर्ता नं. १२० रहेको छ । उनीसहित प्रसवनी ३ का शिवनारायण सरदार, उनका छोरा दिनेश सरदार र मिहिलाल सरदारले गाउँकै रन्जित सरदारको हत्या गरेको आरोपमा मुद्दा दर्ता रहेको सप्तरी प्रहरीले जनाएको छ ।
 रन्जितको शव रुखमा झुण्डिएको अवस्थामा ०७० माघ ४ गते शम्भुनाथमा फेला परेको थियो । ०७० माघ १ गते राति बच्चेलाल र शिवनारायण सरदारको समूह र रामदेव सरदार, सुरेश सरदार र रन्जित सरदारको समूहबीच भएको कुटपिटमा बच्चेलाल पक्षकाले बढी कुटाई खाएका थिए । प्रहरीले रामदेव सरदार, सुरेश सरदारलाई ०७० माघ १ गते राति नै पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा चलाएपछि आरोपितहरुले रन्जितलाई लखेटेर शम्भुनाथमा हत्या गरी झुण्ड्याएको मृतक परिवारको आरोप छ ।
 नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीद्वारा शुक्रबार गरिएको नेपाल बन्दको क्रममा सडकमा टायर बाल्दै गरेको अवस्थामा प्रहरीले बच्चेलाललाई प्रसवनी चोकबाट पक्राउ गरेको थियो ।
 बन्दका क्रममा पक्राउ परेका केन्द्रिय सदस्य तेजप्रसाद अधिकारी, युवा फाँटका जिल्ला सहइन्चार्ज कैलाश काफ्ले र सुरेन्द्रकुमार सरदारलाई प्रहरीले शुक्रबार राति रिहा गरेको थियो भने उनलाई अनुसन्धानका लागि लहान प्रहरी कार्यालय पठाएको छ ।sosurce:annapurnapost



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.