.धुर्मुसको फेरिएको रुप...पढ्नुहोस पुरा समाचार
Advertisement
काभ्रे, श्रावण १४ । चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टेलिभिजनका पर्दामा जति काला वर्णका छन्, वास्तविकतामा उनी त्यो भन्दा सुन्दर छन्। यिनै सुन्दर मान्छेको रुप अहिले ठ्याक्कै टेलिश्रृंखलाकै जस्तो बनेको छ। फरक यति हो, टेलिभिजनमा उनी दारीजुँगामा छ्रैनन्।
हालै काभ्रे जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरदेखि केही दुरी तल रहेको पहरी बस्तीमा धुर्मुस भेटिँदा उनको रुप अजिबको थियो। कालो अनुहार, अनुहारमा दारीजुँगाको उपस्थिति, नमिलेको कपाल, अनि अलिक मैलो किसिमको पहिरन।
भूकम्प पछि धेरै कलाकारहरु राहत बाँड्न गाउँ–गाउँ र जिल्ला जिल्ला पुगे पनि धुर्मुस र उनकी श्रीमति कुञ्जना घिमिरे ‘सुन्तली’ दश जिल्लामा राहत बितरण सकेर पीडितलाई आश्रय दिने अभियानमा सक्रिय भए। दाल, चामल, म्याट, पाल र चाउँचाउँ बाडेर मात्र नहुने रहेछ भन्ने बोध भए पछि स्कूल तथा चर्पी निर्माण गर्दै वास्तविक पीडितको खोजी गरी छानोको व्यवस्था दिलाउने काममा दत्तचित्त भएर लागे। सगुनको साथले यी कार्य सहज बनाउँदै लाग्यो, धुर्मुसले भने।
‘भूँइचालो गएपछि सिन्धुपाल्चोकमा पीडितलाई घर बनाइदिनका लागि गयौं, तर खोजे जस्तो ठाउँ पाईएन, त्यसपछि गोरखा गयौं, त्यहाँका पीडितहरु आफै घर बनाउने हैसियतका पाइयो, त्यसपछि ठाउँ र पीडित खोज्दै जाँदा यो ठाउँमा आइपुग्यौं, ’धुर्मुस खुले,‘ यहाँ घर बनाउन आए पनि सहजको अवस्था रहेन, स्थानीयलाई सम्झाउन समय लाग्यो, जग्गाको मिलाउन पनि समस्या भयो, अन्य अवरोध छल्दै घर बनाउने अभियान सुरु गर्यौ । धुर्मुस-सुन्तलीले बनाईरहेको यो एकीकृत नमूना बस्तीमा सगुन डटकमले पनि ठूलो सहयोग गरेको छ । यो कामलाई ‘मेरी बास्सै’, ‘भद्रगोल’ टीमले पनि साथ दिएको छ ।
यहाँका बीस परिवारलाई लक्षित गरेर बनाइएका बीस घर हेर्दा सुन्दर कटेज जस्ता देखिन्छन्।
शौचालयसहित तीन कोठाको एक तले घरको छानो ग्यालवानाइज रातो रंगको टिनको छ भने भित्ता आधुनिक किसिमका सिमेन्टेट फाइवर बोर्डले बनाइएका छन्। ‘यो बोर्ड २० देखि ३० वर्षसम्म काम लाग्छन्, पानी पर्दा पनि केही हुँदैन र आगोले पनि छिट्टै जलाउदैन। भूइचालो मैत्री यी घरहरु भुकम्पबाट पुरै सुरक्षित रहेका छन्। ’धुर्मुस भन्दैथिए, ‘प्रत्येक घरका अगाडि एक एक वटा धारा हुन्छन्, यहाँको शौचालयको डम्पीङलाई सिधै गोबरग्याँसको खाल्डोमा लगेर ग्याँस उत्पादन गर्नेछौं।’ नेपाल सरकारबाट सरसफाईका दुत समेत रहेका उनीहरुको जोडीले वस्तीलाई पूर्ण रुपले फोहोरमुक्त राख्नका लागि वस्तीभित्र गाईबस्तु नपाल्न अनुरोधन गरेका छन।
साउन महिना भित्र निर्माण गरिसक्ने गरी द्रुत गतिमा काम गरिरहेका उनीहरुले घरको अगाडि सबै परिवारका लागि साझा रुपमा पुजा गर्ने गरी मन्दिर पनि बनाउदैछन्।कलाकारिताबाट समाजसेवातिर लागेका धुर्मुस आजकल बेलुका सुत्दा पनि पहरी बस्तीकै घर सम्झन्छन्। ‘बेलुका सुतिरहँदा निन्द्रा नै लाग्दैन, सामान चोरी भयो कि या कामदारलाई केही भयो कि भन्ने लागि रहन्छ,’उनले भने, ‘घर बनाउन थालेपछि निन्द्रा राम्ररी लाग्न सकेको छैन, समाज प्रति दायित्व वहन गर्न निकै गाह्रो हुँदो रहेछ।’
सगुन डटकमको खुलेर प्रशंसा :
धुर्मुसले सगुन डटकम (sagoon.com) को कामको निकै तारिफ गरे। ’राहत देखि नै सगुनको साथले यहाँसम्म आइपुगेकाछौ। यो पहरी बस्तीमा बनिरहेको घरमा लगाइएका राता रंगका सबै टीनका जस्तापाता सगुन डटकमले नै व्यवस्था गरिदिएको हो। घर बनाउने सिमेन्टको ब्यवस्था, खानपान तथा श्रमिक ज्यालामा पनि साथ दिएर निर्माणको काममा सगुन डटकमले ठूलो योगदान गरेको छ, धुर्मुसले थपे,‘
अन्य धेरैले अस्थायी घर निर्माण गरेता पनि हालसम्म स्थायी घरहरु एकिकृत रुपमा कसैले निर्माण नगरिरहेको अवस्थामा धुर्मुस-सुन्तली सँगकोको सहकार्यमा बनिरहेको एकीकृत बस्ती नयाँ शैलीको विकास भएको सगुन डटकमका नेपाल प्रतिनिधि माधव चौलागाई बताउछन्। ‘धेरैका लागि पर्यटकीय दन्तव्य बन्ने र नेपाल सरकारको लागि यो स्थान उद्धारणको थलो बन्न सक्ने।’ चौलागाईले बताए।
‘धुर्मुस-सुन्तली भगवान’:
पहरी बस्तीका श्याम पहरी धुर्मुस-सुन्तलीलाई भगवान मान्न थालेका छन्। ‘भूकम्पले हाम्रो घर भत्काउँदा धुर्मुस-सुन्तली, सगुन डटकमका टोलीहरु घर बनाईदिन भगवान बनेर आउनु भएको रहेछ, हाम्रा लागि धुर्मुस-सुन्तली भगवान सरह हुनुहुन्छ, ’श्याम भन्छन्,‘ सधैं टेलिभिजनमा देखिने उहाँहरु एक्कासी हाम्रो घरमा आउँदा भगवान आए झै लाग्यो।’
श्याम पहरीका सम्धी वीरमान पहरी पनि धुर्मुस र सुन्तलीलाई भगवान झै मान्छन्। ‘विपत्तिले हामी बिजोग अवस्थामा रहँदा उहाँहरुले आएर अहिले घर बनाइदिनु भएको छ, यो भन्दा खुशीको कुरा हाम्रा लागि के हुन सक्ला र।’ यहाका २० परिवारका लागि त उहाँहरु भगवान सहर नै हुन्, उनले थपे।
source taja khabar

Advertisement