अमेरिका गएका गायक राजु लामा सडकमा आए
Advertisement
काठमाडौं । एउटा डल्ले डल्ले कदको तर हिस्सी परेको नेपाली केटो अमेरिकाको ब्रुकलिन शहरको व्यस्त बजारमा सडकमै ओर्लिएर खानेकुरा बेच्नमा व्यस्त थिए । उनले लगातर तीन दिन त्यसैगरी सडकमै बसेर ग्राहकहरुलाई खुशी पार्दै,आफ्ना कुरा राख्दै खानेकुरा बेचेर ४४ सय डलर जम्मा गर्न सफल भए ।
तीन दिन अहोरात्र खटिदा ज्यान भारी भए पनि मन भने चङ्गा भइरहेको थियो । कारण नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ केही रकम जुटाउँने अभियान स्वरुप उनी सडकमा ओर्लिएर खानेकुरा बेच्दै थिए । ती नेपाली ठिटो अरु कोही नभएर चर्चित नेपाली म्यूजिक व्याण्ड मंगोलियन हर्टका भोकलिष्ट राजु लामा थिए । केही वर्षदेखि अमेरिकामै बस्दै आएका गायक लामाले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि त्यसरी सडकमा खाना बेचेरै केही रकम जुटाएका हुन् । साथै उनले विभिन्न देशमा भएका कन्सर्टहरुबाट पनि यो अभियानका लागि आर्थिक कोष जुटाउँन सहयोग गरिसकेका छन् । उनको अभियानका बारेमा थाहा पाएर अमेरिकाकै न्यूयोर्कस्थित फुडबजार सुपरमार्केटले २० हजार डलर सहयोग गरेको उनले बताए । यसरी जम्मा गरेको झण्डै ३५ लाख नेपाली रुपैयाँ लिएर उनी यतिखेर नेपाल आइपुगेका छन् र सिन्धुपाल्चोकका भूकम्प प्रभावित क्षेत्रका स्थानीयको पुनर्वासका लागि जुटिरहेका छन् । आफ्नै नाममा खोलिएको राजु लामा फाउण्डेशन मार्फत यतिखेर उनी भूकम्प प्रभावितहरुलाई सकेको सहयोग गर्न जुटेका हुन् ।
अहिलेलाई सिन्धुपाल्चोकमा मात्र सहयोग केन्द्रीत भए पनि आउँदो दिनमा गोरखा,धादिङ,काठमाडौं र दोलखाका प्रभावितहरुका लागि समेत सहयोग जुटाउँन आफू लागिपर्ने गायक लामाले बताए । कलाकारले गीत गाउने मात्रै भन्दा पनि देश अप्ठ्यारो परेको अवस्थामा सकेको सहयोग गर्नुपर्छ भन्ने मान्यत राख्ने लामाले त्यसकारण अझै विभिन्न कन्सर्टहरु आयोजना गरी सांगीतिक कार्यक्रम मार्फत आर्थिक संकलनमै रहने योजना बनाएका छन् ।
अमेरिका पलायन भएका नेपाली गायक गायिकाहरुमध्ये पूर्णकालीन रुपमा सांगीतिक कार्यक्रम र कन्सर्टहरुमा व्यस्त रहने लामा मात्रै एक्ला कलाकार हुन् । अमेरिकाबाटै उनी विभिन्न देशहरुमा हुने कन्सर्टहरुमा पुग्ने गरेका छन् । स्रोत : http://news24nepal.tv/
Advertisement