टिचिङ अस्पतालको इमर्जेन्सी कक्ष। बिहानको साढे चार बजे पनि बिरामीको भीड छ। धेरैजसो चुपचाप अचेत अवस्थामा सुतिरहेका छन्। ग्रीन एरियामा थोरै आवतजावत र चहलपहल छ। यलो र रेड एरियामा सबै चुपचाप छन्, मनिटरहरु कराएको मात्र सुनिन्छ। सबैको हातमा क्यानुला लागेको छ, कसैको सलाइन जोडिएको छ।
स्टाफहरु आफ्नै काममा व्यस्त छन्, कोही बिरामी र उनीहरुका आफन्तसँग कुरा गरिरहेका छन्, सिस्टरहरु विरामीलाई औषधी दिन, विरामीको रगत जाँचको लागि पठाउन व्यस्त छन्। कोही स्टेसनमा बसेर लेखिरहेका छन् कोही भने रातभरीको व्यस्तताले हो कि झुलीरहेका देखिन्छन्। बाहिर निस्कने बाटो छेउको एउटा कुनामा एकजना डक्टर मोबाइलमा कुरा गरिरहेका छन्। लामबाउले सेतो एप्रोन, घाटीमा स्टेथेस्कोप भिरेका उनी चिन्तित मु›ामा एकहातले चस्मा मिलाउँदै अर्को हातले समातेको मोबाइलमा भनिरहेका छन्– तिमी कस्तो मेरो कुरा बु‰दैनौ, म अहिले ड्युटीमा छु के। तिम्रो अन्तिम डिसिजन त्यही हो त? म तिम्लाई मेरो ड्युटीपछि भेट्छु नि, हुन्छ?
‘डाक्टर आदर्श, डाक्टर आदर्श, रेड एरियामा पेसेन्ट, तुरुन्त आउनुस्।‘ एकजना नर्स उनी भएतिर दौडेर आइपुगिन्। ‘पेसेन्ट असिस्टोल (मुटुको चाल बन्द भएको अवस्था) मा छ, सीपीआर (बन्द भएको मुटुलाई छाती थिचेर रक्तसंचार गराउने उपचार प्रकृया) हुँदैछ, छिट्टो आउनुस्।‘
‘ल, बिरामी आयो, म गएँ है, सि यु।‘ कल इन्ड पनि नगरी एप्रोनको खल्तीमा मोबाइल हालेर उनी रेड एरिया तिर दौडे।
रेड एरिया पुग्दा सीपीआर भइरहेको रहेछ, डा. विश्वास छाती थिचिरहेका थिए भने डा. सुशिल (इन्टर्न) बिरामीको मुखमा मास्क समाई अक्सिजन दिइरहेका थिए। आदर्श डाक्टरले जाने बित्तिकै कमान्ड सम्हाले –हिस्ट्री भन त विश्वास।
डाक्टर विश्वासले भने– वीरबहादुर गुरुङ, नन केस अफ हाइपरटेन्सन, डायबिटिज, सीओपीडी, अस्तिदेखी कफ, फिभर, सर्ट नेस अफ ब्रेथ (पहिलेदेखी उच्च रक्तचाप, मधुमेह, दमको रोगी, अस्तिदेखी खोकी, ज्वरो, सास फेर्न गाह्रो) थियो रे, आज बिहान बेहोस जस्तो हुनुभो रे, एम्बुलेन्समा बोलिराख्नु भाथ्यो रे, एम्बुलेन्सबाट ओलारेपछि पूरै बेहोस् हुनुभो रे।
डा. विश्वास बोल्दै पनि थिए, बिरामीको छाती पनि थिच्दै थिए। निशा सिस्टरले एकै सासमा भनिन्– यहाँ हाम्ले हेर्दा चै पल्स फिबल मात्रै थियो, बीपी रेकर्डेबल थिएन (नाडीको चाल एकदमै सुस्त, नाप्दा बीपी थिएन), मनिटरमा जोड्दाजोड्दै असिस्टोल(मुटुको धड्कन बन्द हुनु) देखायो, अनि वहाँहरु आएर सीपीआर शुरु गरेको।
‘ओके, तिमीहरु दुईजना मिलेर चेस्ट कम्प्रेसन कन्टिन्यु गर, म इन्टुबेसन (मुखबाट पाइप हालेर कृत्रिम श्वास दिने प्रकृया)गर्छु।‘ डाक्टर आदर्शले भने ‘सिस्टर, इन्टुबेसनलाई सब रेडी छ नि? ट्युब ७ को, केटामिन १०० एमजी, सक्स १०० एमजी है, अनि सक्सन रेडी छ नि है।‘
उनी बिरामीको उपचारमा जुटे। अरु डाक्टर र नर्स अह्राए।
फेरि मोबाइलमा घन्टी बज्न थाल्यो। ‘फोनलाई नि यै बेला आउनुपर्छ‘ उनी झर्किए।
घाटीको स्टेथ झिकेर बिरामीको छातीमा लगाइसकेपछि उनले भने – ठीक छ दाइ।
“फिक्स गर्दिम् सिस्टर“ “एड्रेनालिन पाउनु भा हो?“
‘एक साइकल पाउनुभो डक्टर।‘ फोनको घन्टी एकछिनमा बन्द भयो। डाक्टर आदर्शको टोलीको प्रयासले बिरामी श्वास फेर्न थालेका थिए।
एकजना ३० वर्षका युवक बिरामी नजिक आए।
‘वहाँ तपाईंको को हो?‘
‘मेरो बुवा।‘
‘ए, म डाक्टर आदर्श हुँ, अहिले बुवाको अवस्था निकै चिन्ताजनक छ, अघि उहाँको मुटुले काम गर्न छोडेर हामीले बाहिरबाट छाती थिचेर, औषधी गरेर मुटु फेरि चल्न थालेको छ, उहाँले आफंैले सास फेर्न नसक्नुभएकोले मुखबाट यो पाइप हालेर फोक्सोसम्म पुर्याई अक्सिजन दिइरहेका छांै। पहिलेदेखिको दमको रोग, त्यो अहिले बढेको अनि सुगर पनि एकदमै कम भएकोले यस्तो भएको हुनसक्छ।‘ उनले ती युवकलाई सान्तवना दिए। मनिटर लगातार टुट टुट टुट गरेर बजिरहेको छ, इमर्जेन्सीमा भिड र हल्लामा त्यो आवाज हराउँदै जान्छ।
नाइट ड्युटी सकेर खाना खाइ सुतेको उनी एकैपटक बेलुका ब्युझे। मोबाइलमा १० वटा मिस्डकल थिए, मेसेज नि आएको रहेछ– आइ वान्ट टु मिट यु, प्लिज कल मी। ४ घण्टाअघि रियाले पठाएको मेसेज रहेछ, मिस्ड कल पनि रियाका नै थिए। डाक्टर आदर्श बिस्तराबाट उठे– हत्तेरिका, कस्तोसँग सुतिएछ त।
उनले कलब्याक गरे। ‘हेल्लो रिया, सरी म पोस्ट ड्युटी सुतिरहेको थिएँ, तिम्रो कल मेसेज सबै मिस भो।‘
‘यु नो, तिमीलाई हाम्रो रिलेसनको मतलब नै छैन।‘ रियाले झर्केर जवाफ दिइन्।
‘त्यस्तो हैन, ड्युटी बीजी भएको थ्यो, निन्›ा लाग्यो सुतियो, के गर्नु त।‘ उनले सम्झाउन कोशिश गरे।
‘ओके, म फर्दर स्टडीको लागि अस्ट्रेलिया जादैछु, भेट्ने हो कि हैन?‘
‘के रे?‘ रियाको कुराले उनी आश्चार्यमा परे।
‘या‘
‘अनि म? हाम्रो रिलेसन?‘ अक्कमक्क पर्दै उनले सोधे।
‘लेट्स सी ह्वाट फ्युचर हेज फर अस्।‘
‘तेसो भए भेट्ने चाहीँ किन नि? भविष्य नभएको सम्बन्धमा झुण्डिएर बस्न म चाहन्नँ। त्यसैले भेट्नुभन्दा नभेट्नु नै बेस्। गुड बाई।“ उनले फोन काटिदिए।
उनको टाउको भारी भयो, फेरि बेडमा पल्टिए। आँखामा रियासँग बिताएका पलहरु एकपछि अर्को गरेर आउँदै हराउँदै गए। आदर्श र रिया एमबीबीएस पढ्ताताकाका साथी थिए। शुरुवातका दिनदेखि नै नजिक थिए, कसरी कहिले त्यो मित्रतामा प्रेम पलाउन थाल्यो दुवैलाई पत्तो नै भएन। साथीहरुले जिस्काउन थालेपछि बल्ल दुबैलाई त्यो आकर्षण महसुस भयो। त्यो लेक्चर हल, त्यो ल्याब रुम, क्लिनिकल पोस्टिङका पलहरु, त्यो चिया पसल, ती इभिनिङ वाकहरु, सबैसबै एउटा फिल्म जसरी आदर्शको आँखामा आए। एमबिबिएस सकिएपछि आदर्शले टिचिङ अस्पतालमा काम गर्न थाले, रिया भने बाहिर जाने तयारीमा लागिन्। रियालाई नेपाल बस्न मनै थिएन, आदर्शलाई नेपाल छोड्न मनै थिएन। यसै कुरालाई लिएर दुबैबीच धेरैपल्ट झगडा पनि परिसकेको थियो।
सधैंझे आफूले भर्ना गरेको बिरामी भेट्न उनी वार्डतिर गएको थियो। एनेक्स २ को बेड नं. ६०४ मा थिए, वीरबहादुर गुरुङ, उही इमर्जेन्सीमा ४ दिनअघि डाक्टर आदर्शले हेरेको बिरामी। ढोकामा नक गरेर उनी भित्र छिरे। मुस्कुराउँदै उनले भने– नमस्ते, सञ्चै हुनुहुन्छ बुवा?
छोराले नमस्ते फर्काउँदै भने– ए डा‘साब पो आउनुभएछ, हजुर अहिले त अली राम्रो भ'को छ। तीन दिनमै आइसीयुबाट यता सार्न सकियो, राम्रो सुधार भइर‘को छ।
वरीपरी परिवारका मान्छे थिए, कसैलाई उनले अस्ति इमर्जेन्सीमा देखेको थिए भने कोइ नयाँ पनि थिए।
‘बुवा उहाँले नै अस्ति इमर्जेन्सीमा पहिलो पटक हजुरलाई हेर्नुभएको थियो, उहाँको मेहेनतले नै हजुरको ज्यान जोगाउन सफल भका हौं।‘ छोराले बिरामी बुवालाई डाक्टर आदर्शको परिचय दिए।
बिरामीले हात जोडेर नमस्ते गर्न खोजे। डाक्टर आदर्शले मुस्काएर भने– पर्दैन बुवा, बिरामी उपचार गर्ने त हाम्रो काम नै हो नि। ‘मुटुको धड्कन नै बन्द भइसकेपछि फर्कने सम्भावना एकदम कम हुन्छ, हामीले प्रयास गर्यौं भगवानले साथ दिनुभो। धेरै सुधार भएको रहेछ, अब छिट्टै नै डिस्चार्ज पनि हुनुहुन्छ होला। हस् म अहिले लाग्छु, हजुरलाई हेरिरहेको डक्टरसँग नि एक पटक हजुरबारे बु‰छु, अनि मिल्यो भने फेरी भेटौंला नि त है।‘ नमस्ते गरेर उनी कोठा बाहिर निस्कन्छन्। आफूले हेरेको बिरामी तंग्रिएको देखेर आदर्शलाई निक्कै खुसी भइरहेको थियो।
भर्याङबाट ओर्लदै गर्दा मोबाइलको घण्टी बज्न थाल्यो। उनले निकालेर हेरे –रिया कलिङ। फोन उठाऊ कि नउठाऊ भनेर अन्योलमा परे। एकछिनमै रिसिभ बटन थिचे। ‘हेल्लो आदर्श, म एयरपोर्टमा छु, अस्ट्रेलिया उड्न लागको।‘ उताबाट रियाले भनिन्।
‘ए...‘ उनीसँग यो बाहेक भन्नुपर्ने अरु कुनै शब्द थिएन्।
‘बाई भन्नलाई फोन गरेको।‘
‘ओके बाई, गुड लक फर योर फ्युचर‘ भनेर आदर्शले फोन काटिदिए। हिँड्दाहिँडदै उनी टक्क अडिएर एकछिन सोचमग्न भए। केहीबेरमै फोन खल्तीमा राखेर मुसुक्क हाँसेर अघी बढे। खै किन हो उनको अघिको खुसीमा खासै कमी आएको थिएन। बाहिर आकाश खुलेको थियो, चिसो हावाको स्पर्शले उनलाई रोमाञ्चित बनायो। source setopati

Advertisement