यसपालिको तीजमा भूइँचालोलाई ‘नो चान्स’
Advertisement

२७ असार, काठमाडौ । दुई महिनाअघिको शक्तिशाली भूकम्पको धङधङी बाँकी नै रहेका बेला देशलाई ठूला चाडपर्वहरुले छोप्न थालेका छन् । सबैभन्दा पहिले आउँदैैछ महिलाहरुको पर्व तीज ।
चल्तीका गायकगायिकाहरु दुई महिनापछि आउने तीज गीतको तयारीमा डुबिसकेका छन् । पछिल्लो समय चेलीबेटीका रोनाधोना मात्रै नभएर समसामयिक विषयहरु पनि तीजगीतमा समेटिने गरेका छन् । पशुपति शर्माले तीजका गीतमा भूकम्पको बेदना समेट्न खोजे पनि अन्य गायक गायिकाले तीजमा भूकम्पलाई स्थान नदिने बताएका छन् ।

यसपालिका तीज गीतमा भूकम्पको पीडा सम्झाउने मुडमा छैनन् अधिकांश कलाकारहरु । आखिर तीजमा कस्ता कोसेली ल्याउँदैछन् त उनीहरुले ?
सुनिता दुलाल :
तीज गीतलाई विषेश महत्व दिन्छिन् सुनिता दुलाल । यसपालि आफ्नो गीतले पोहोर भन्दा धेरै चर्चा पाओस् भन्ने लागेको छ उनलाई । ‘यसपालि पोहोरको भन्दा बढी मेहनत गरेकी छु । दर्शकले राम्रै मान्नुहोला भन्ने लागेको छ,’ उनले भनिन् ।
भूकम्पका प्रसंगले तीजका गीतलाई ओजनदार बनाउला जस्तो उनलाई पनि लाग्दैन ।
शोभा त्रिपाठी :
तीज गीतमा भूकम्पको एक शब्द पनि नराख्ने योजनामा छिन् शोभा त्रिपाठी । एकनारायण भण्डारीलाई शब्द लेख्ने जिम्मा दिएकी शोभाले भूकम्पको पीडालाई बिर्संदै जानुपर्ने धारणा राखिन् ।
यसपालि उनको भीसीडी भने आउँदैन । भीसीडीको बजार खत्तम भएकाले भीडियो बनाएर युट्युवबाटै सार्वजनिक योजनामा छिन् उनी । विगतमा आफ्नै भिडियोको प्रचार गर्न भन्दै अरुका गीतमा मोडलिङ गर्न आनाकानी गर्ने शोभाको अहिले विचार परिवर्तन भएको छ । ‘यसपालि अरुको गीतमा पनि मोडलिङ गर्छु ।’ उनले भनिन् ।
रमिला न्यौपाने :
खुमन अधिकारी र रमीला न्यौपानेले हल्का कमेडी पाराको गीत रेकर्डिङ गरेका छन् । म्युजिक भिडियोको सुटिङको तयारीमा रहेकी रमिला आफूहरुको गीत कसैको जीवनशैलीसँग सम्बन्धित रहेको बताउँछिन् ।
उनको गीतमा पनि भूकम्पका प्रसंग कहीँ कतै छैनन् । उनी भन्छिन् ‘भूकम्पको पीडा हाम्रा लागि ठूलो हो, तर फेरि त्यही पीडादायी प्रशंग राखेर गीत बनाउन मन लागेन ।’ भूकम्पले दिएको पीडालाई बिर्सेर क्रमशः अघि बढ्नुपर्ने उनको भनाइ छ ।
पशुपति शर्मा :
आफ्नै शब्द, संगीत र स्वरमा गीत गाउँछन् पशुपति शर्मा । यो वर्ष तीज केन्दि्रत ९ वटा गीत गाउने योजनामा रहेका उनले ४ वटा गीत रेकडिङ गरिसके । ९ मध्ये एउटा गीतमा चाँहि उनले भूकम्पको प्रसंग राखेका छन् ।
‘तीजका गीतमा भूकम्पका धेरै प्रसंगलाई स्थान दिनु जरुरी छैन,’ उनले भने, ‘भूकम्पलाई धेरै स्थान दिँदैमा गीत राम्रो हुन्छजस्तो लाग्दैन मलाई ।’
कोमल वली :
हरेक वर्ष तीज गीत गाउनेवित्तिकै विवादमा आउने गरेकी कोमल वली यसपालि तीज गीत नै नगाउने मुडमा छिन् । उनको बुझाइमा तीज गीतमा भूकम्पका प्रशंग जरुरी छैन ।
भूकम्प प्रभावित बालबालिकालाई हसाउँदै नचाउँदै देश दौडाहमा लागेकी कोमलले तीज कार्यक्रम पनि भूकम्प प्रभावित वालवालिकाकै वीचमा मनाउने बताइन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.