अति मिल्ने आफ्नै साथी रञ्जन कोइरालालाई श्रेष्ठले हत्कडी लगाएर जेल पठाए
Advertisement
६ साउन, काठमाडौं । भनिन्छ, प्रहरीले आफ्नै बाबुलाई पनि छाड्दैन । जागिर खानेबेलामा नै प्रहरीलेे कसम खाएको हुन्छ कि अपराध गर्ने कसैलाई छाड्दिँन । एसएसपी राजेन्द्र श्रेष्ठको जीवनमा यस्तै घटना भयो । सँगै प्रहरीमा भर्ना भएको, अति मिल्ने ‘लंगौटियार’ साथीलाई श्रेष्ठले हत्कडी लगाएर जेल पठाए । पछि जेलमा साथीको नाताले भेट्न जाँदा डीआइजी रञ्जन कोइराला बोल्नै चाहेनन् ।
यो अनुसन्धान दुई कारणले उनका लागि चुनौतिपूर्ण थियो । पहिलो, रञ्जन एक उच्चपदस्थ सरकारी अधिकारी थिए, दोस्रो, उनका पुराना एवं घनिष्ठ ‘लंगौटियार’ मित्र थिए । आफ्नो करिअरकै माइलस्टोनका रुपमा रहेको अनुसन्धानलाई श्रेष्ठले यसरी सम्झिए :
रञ्जन कोइराला र म ०४६ सालमा एकैसाथ प्रहरी सेवामा छिरेका हौं । खासमा हामी क्याम्पस जीवनदेखिकै साथी थियौं ।
रञ्जन मीनभवन क्याम्पसमा पढ्थ्यो, म त्रिचन्द्रमा । हामी विभिन्न क्याम्पस पढ्ने २०-२५ जना साथीको समूह थियो । प्रहरी निरीक्षकमा आवेदन खुलेपछि हामीले एकसाथ फाराम भर्यौं । ४-५ जनाको नाम निक्लियो, त्यसमध्ये रञ्जन र म पनि थियौं ।
नाम निस्केपछि तालिम सुरु भयो । त्यतिबेला प्रहरी तालिम केन्द्र त्यहीँ थियो, जसलाई अहिलेे पुलिस एकेडेमी भनिन्छ । तालिममा सहभागी ३६ जनामध्ये हामी दुईको घनिष्ठता बेजोड रह्यो । त्यतिबेला नै एकले अर्कालाई राम्रोसित बुझ्न पायौं । उसलाई मैले मिलनसार र सहयोगी साथीका रुपमा पाएको थिएँ । मैले कुनै दिन उसको हातमा आफैंले हत्कडी लगाउनुपर्ला भनेर सपनामा पनि सोच्ने कुरा थिएन ।
तालिमपछि मेरो पोस्टिङ पोखरामा भयो । ऊ पुलिस एकेडेमीमै रह्यो । त्यसपछि हामी स्वतः टाढियौं । पछि सशस्त्र प्रहरी खुलेपछि ऊ डीएसपी भएर गयो । कालान्तरमा २२ वर्षपछि हामी फेरि आमने -सामने भयौं, तर अलग परिवेशमा । म एक अनुसन्धान अधिकृत र ऊ एक आरोपीका रुपमा ।
म ०६८ सालमा महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख थिएँ भने ऊ सशस्त्रको डीआइजी । ऊ चीनमा भएको सशस्त्रको ट्रेनिङबाट भर्खर फर्केको थियो ।
पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर माइती पक्ष हनुमानढोकामा उजुरी दिन आए । हाइप्रोफाइल केस भएकाले यसलाई आफैंले ह्याण्डल गर्ने निर्णय गरेँ ।
उनीहरुसित ठोस प्रमाण थिएन, तर रञ्जनलाई पक्राउ गर्न मलाई चर्को दबाव दिए । आरोपी जोसुकै भए पनि उजूरी परेकै भरमा कुनै स्पष्ट आधारबिना पक्राउ गर्ने अवस्था हुँदैन । यदि ऊ प्रहरीको उच्च व्यक्ति नभएर सामान्य नागरिक थियो भने पनि म तत्कालै समातेर थुन्न सक्दिनथेँ । तर, मैले आफ्नो साथी भएकाले रञ्जनलाई जोगाउन खोज्यो भनेर मिडियाले खेद्न थाले ।
मैले तीन पटकसम्म रञ्जनलाई बोलाएर मेरै कार्यकक्षमा दुई पक्षबीच छलफल गराएँ । रञ्जनले आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गर्यो । ‘मसित राम्रो सम्बन्ध थिएन, राति-राति एक्लै हिँड्थी, कतै गई होली,’ उसको भनाइ यस्तै थियो । तर, माइती पक्षले भने उसैले अपहरण गरेको जिकिर गरिरहेका थिए ।
रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त रहेको मलाई थाहा थियो । त्यतिबेला उनीहरु छुट्टएिर बस्थे । ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे । मलाई पनि शंका थियो कि रञ्जनले श्रीमतीलाई अपहरण गरेर कतै लुकाएको छ कि ? ठूलो अपराध नै गर्यो होला भन्नेचाहिँ लागेको थिएन । मैले उसित छुट्टै कुराकानी पनि गरेँ । उसले आफूलाई थाहा नभएको जिकिर गरिरह्यो ।
कुनै बेलाका घनिष्ठ साथी हामी यतिबेला अनुसन्धान अधिकृत र एक आरोपीको तनावपूर्ण सम्वन्धमा थियौं । त्यसैले यो केस ह्याण्डल गर्नु मेरो करिअरकै सबैभन्दा ठूलो चुनौती थियो ।
अनुसन्धान गर्ने क्रममा करिब १५ रात त म निदाउँनै सकिनँ । रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन । त्यसैले सुरुमा म प्रमाण जुटाउन केन्द्रित भएँ ।
गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको तथ्य फेला पर्यो । त्यसपछि मैले उसका हरेक गतिविधिमाथि निगरानी राख्न लगाएँ । नयाँ अपराधीको एउटा साइकोलोजी हुन्छ, ऊ अपराध गरेको स्थलमा कुनै प्रमाण छुटेका छन् कि भनेर चेक गर्न दोस्रोपटक जाने सम्भावना धेरै हुन्छ । रञ्जनको हकमा पनि यस्तै भयो ।
पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले भेटाएका रहेछन् । उनीहरुले सडकबाट २० मिटर भित्र जंगलमा सो शव फेला पारेका थिए ।
आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेछन् । रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेछन् । उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएछन् । तर, आफू सशस्त्रको डीआइजी भनेर ऊ सजिलै छुट्न सफल भएछ । त्यहाँबाट फर्किने क्रममा नागढुंगामा हामीले पक्राउ गर्यौं ।
पालुङमा भेटिएको शवको अवशेषमाथि अनुसन्धान गरियो । हातको घडी सद्दे नै थियो । गीताकी आमालाई लगेर त्यो घडी देखाउँदा उनले छोरीकै हो भनिन् । त्यसले नपुगेर हामीले उक्त शवको डीएनए टेस्ट पनि गर्यौं ।
नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि डीएनए टेस्टको सहारा लिएको सम्भवतः यो पहिलो घटना हो । डीएनए टेस्टबाट पनि उक्त शव गीताकै हो भन्ने पुष्टि भएपछि हाम्रो अनुसन्धानले बल्ल लय समात्यो ।
सुरुमा रञ्जनले अपराध स्वीकार गरेको थिएन । नेपालको कानूनमा कुनै पनि आरोपीलाई मौन बस्ने हक प्रत्याभूति गरिएको छ । उसले जवाफ दिन्न/बोल्दिनँ भन्न पाउँछ । रञ्जनले त्यसैको सहारा लियो ।
उसले मुख खोल्न नमानेपछि हामीले जसरी पनि प्रमाण जुटाउनुपर्थ्यो । यतिबेलासम्म पनि पत्रपत्रिकाले यो घटनाको सही अनुसन्धान भइरहेको छैन भनेर मलाई प्रहार गरिरहेका थिए । तर, म विचलित भइँन । मैले अनुसन्धानमा कमजोरी गरेको खण्डमा कानूनले मेरै कठालो समात्छ भन्ने मलाई थाहा थियो ।
त्यसपछि हामीले रञ्जनको बडीगार्ड, ड्राइभरदेखि घरेलु कामदारसम्मको बयान लियौं । गीता बस्ने घरमा व्यापक खोजतलास गर्यौं ।
गीता र रञ्जन छुट्टएिर बस्न थालेको लामो समय भइसकेको थियो । रञ्जन अर्की युवतीसित लिभिङ टुगेदरमा थिए । हामीले उनको पनि बयान लियौं ।
सबै प्रमाणहरु जुटाइसकेपछि रञ्जनले नै हत्या गरेको हो भन्ने निश्कर्षमा पुगियो । रञ्जनले पनि अन्ततः अपराध कबुल गर्यो । उसले मसित भन्यो, ‘एस, आइ ह्याभ डन, एन्ड आइ एम गन । (हो, मैले गरेको हुँ, र अब म सकिएँ ।)
हाम्रो अनुसन्धानबाट रञ्जनले घरमै गीताको हत्या गरेको देखिन्छ । हत्यामा रक्तपात भएको देखिँदैन । सम्भवतः सिरानी वा कपडाले घाँटी थिचेर मारेको थियो । हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्याएको देखिन्छ । पेट्रोल पनि घरबाटै लिएर गएको थियो । राति जंगल छेउमा गाडी रोकेर, लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको देखिन्छ ।
सबै प्रमाण जुटाइसकेपछि हामीले मुद्दा दायर गर्याैं । अनुसन्धानका क्रममा उसले मसित कहिल्यै पनि मलाई बचाइदेऊ भनेर याचना गरेन । किनभने उसलाई थाहा थियो, यस्तो केसमा साथी त के आफ्नै बाउलाई पनि बचाउन सकिँदैन । यो मोटरसाइकल ठोकिएकोजस्तो सामान्य घटना थिएन ।
अदालतले उसलाई जेल पठाएपछि म एकपटक रञ्जनलाई भेट्न जेलमा पुगेँ । यसपटक प्रहरीको रुपमा नभएर एउटा साथीका रुपमा । यद्यपि मलाई त्यति रेस्पोन्स गरेन उसले । मैले उसलाई भनेँ, ‘हेर्, मानवीय नाताले भेट्न आएको हुँ । मैले एउटा अनुसन्धान अधिकृतका रुपमा जे गर्नुपर्थ्यो, त्यही गरेँ । मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु ।’
उसले बिलकुल केही भनेन । मसित कुनै खालको ‘इमोसन सो’ गरेन ।
मलाई सुरुदेखि खेदिरहेका मिडियाहरुले रञ्जन जेल गएपछि मेरो प्रशंसा गरे । माइती पक्षले त पहिले गरेको दबावपूर्ण व्यवहारका लागि माफी नै मागे । सायद रञ्जनको हातमा लागेको हत्कडी नै मेरोतर्फबाट सबैलाई एकमुष्ट जवाफ थियो ।
म बारम्बार के च्यालेन्ज गर्छु भने यो केसको अनुसन्धानमा मैले कुनै पनि कसर बाँकी राखिनँ । तब न यो नेपाल प्रहरीकै अपराध अनुसन्धानाको इतिहासमा ‘एउटा माइलस्टोन’ का रुपमा रहेको छ । न्यायाधीशको सम्मेलनमा पनि यो केसको चर्चा हुन्छ ।
कसरी बिग्रियो गीता र रञ्जनको सम्वन्ध ?
(मिडियाहरुमा आएका समाचारमा आधारित)
पोखराका रञ्जन र काठमाडौंकी गीताबीच ०५० जेठ ३१ गते मागी बिहे भएको थियो । बिहेको केही समय उनीहरुको सम्वन्ध राम्रै चल्यो । तर, केटी भनेपछि हुरुक्क हुने रञ्जनको स्वभावले गर्दा सम्वन्धमा दरार आउन थाल्यो । यसबीचमा उनीहरुका दुई छोरा जन्मिए ।
कान्छो छोरा जन्मिदासम्म अर्थात् ०५७ सम्म रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन् । त्यसपछि उनीहरु सँगै बस्ने अवस्थामा रहेनन् । गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन् । रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे । एउटा छोरा बुवासँग र एउटा आमासित बस्थे ।
यसैबीच उनीहरुबीच सम्पत्तिको झगडा सुरु भयो । गीताले ०६८, मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन् ।
अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो ।
सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेका हुन् । हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइयो ।
अदालतले ०७१ वैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । उनी हाल डिल्लीबजारमा जेल सजायँ काटिरहेका छन् । उनकी प्रेमिका तारा रेग्मीलाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजायँ सुनाइएको थियो ।
मन्त्रिपरिषदले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त गरेको छ ।
प्रस्तुतिः चिरञ्जीवी पौडेल
Advertisement